पूजा सञ्चालन र पुजारीको व्यवस्था:

प्रत्येक श्री कृष्ण जन्मअष्टमीका दिन श्री कृष्णको पूजा र अखण्ड हरिकिर्तन गर्दै आएको छ । मन्दिर निर्माण भएपछि दैनिक विहान वेलुकी पूजा सञ्चालन भैरहेको छ । यसैगरी मौलाकालिका मन्दिरमा मणि मुकुन्दसेन राजाको विलय पछि पिनाली मगर र सुनारी मगरले पूजा गर्ने गरेका थिए भन्ने किंमबदन्ती सुन्न पाईएको थियो । त्यस पछि गाउँलेहरुले पालो बाँडेर पूजा गर्ने गरेका थिए भन्ने पनि किंमबदन्ती नै छ । १९९० साल पछि धेरै वर्ष मन्दिरमा पूजा हुन सकेन । गै।डाकोट–१ धारापानी गाउँबाट दिशापारेर कालिकाको पूजा गर्ने गरेको पाइन्छ । २०३२ साल बाट काशीनाथ पौडेल पुजारी हुनु भइ, परम्परा अनुसार वहाँलेपनि बडा दशैं र चैत्र दशैंमा वर्षको दुइपल्ट पूजा गर्ने गरेका थिए ।
वहाँ भन्दा पहिला ब्राह्मण जाति पुजारी भएको पाईदैन । वहाँ पहिलो ब्राह्मण पुजारी हुनुहुन्थ्यो । त्यसपछि निरन्तर रुपमा ब्राह्मण पुजारी द्वारा पूजा सञ्चालन हूँदै आएको छ । २०३८ सालको बडादशैं देखि धार्मिक सेवा समिति द्वारा संस्थागत रुपमा पुरानै चलन अनुसार वर्षको दुईपटक वडादशैं र चैत्रदशैंमा, घटस्थापना गर्ने, बाटो मर्मत सर–सफाई रंग–रोगन गर्ने, नौमति बाजा सहित भजनकीर्तन गर्दै मन्दिरमा फूपाती भित्रयाउने, कालारात्रि जाग्ने, अष्टमी र नवमकिा दिन सात्विक वलि पूजा गर्ने र दशमीका दिन भक्तजनहरु समेतलाई टिकालगाई जमरा दिने व्यवस्था शुरु भयो । २०४३ साल बैशाख देखि वडादशैं र चैत्र दशैंमा विशेष पूजा र प्रत्येक मङ्गलबार, शनिबार हप्ताको २ दिन पूजा पाठ गर्ने व्यवस्था भयो । २०४४ साल चैत्र ६ गते देखि आवासीय पुजारीको व्यवस्था गरी पूजा विधि विधान अनुसार पूजा सञ्चालन गर्न गैंडाकोट वडा नं. १ निवासी धननजय आचार्यलाइ पहिलो आवासीय पुजारी नियूक्ति गरी दैनिक विहान वेलुकी पूजा–पाठ आरती अटुट रुपमा सञ्चालन भैरहेको छ । वडादशैं, चैत्रशैं, एवम् नववर्ष बैशाख १ गते र प्रत्येक शनिवार, मङ्गलबारका दिन अत्याधिक भिड हुने हूँदा ५ सदस्यीय पूजा उप–समिति द्वारा पनि मन्दिरमा पुजारीलाई सहयोग हूँदै आएको र २०६४ साल देखि एक जना आवासीय सहायक पुजारी थप गरी दुईजना पुजारीको व्यवस्था भएकोले भक्तजनहरुलाई पूजा पाठ दर्शन गर्ननिकै सुविधा भएको छ ।

मौलाकालिका भगवतीको उपासना, महत्व र जनश्रुति

शक्तिस्वरुपा मौलाकालिका भगवतीको पूजा अर्चना, आराधना एवम् उपासना, सुद्ध धार्मिक भावनाले गर्दा आत्मसन्तुष्टिको साथै आनन्द र शक्ति प्राप्त हुन्छ । श्रद्धा, आस्था र विश्वास बिना कालिका भगवतीबाट शक्ति प्राप्त हुन सक्दैन । मानिसलाई दुःख आपत–विपत र सङ्कट परेको अवस्थामा भगवतीको उपासना, बन्दना, सम्झना सहित भाकल गरी, शरणपरेमा, गुहारेमा दुःख आपत्तिबाट मुक्त मइन्छ भन्ने जन विश्वास छ । देवताहरुले पनि कालिका माताको अनन्य भक्तिबाट विजय प्राप्त गरेका थिए । मौलाकालिका मन्दिर धार्मिक र सामुदायिक, हरियाली वन जङ्गल भित्र अंगालेको छ । कालिगण्डकी र नारायणी नदीले विहानको सुगन्धीत वातावरणले, विहान ५ बजे मन्दिर आई पुग्ने भक्तजनहरुको स्वास्थमा लाभ पुगेको छ ।
नेपालका विभिन्न जिल्ला, गाउँहरु लगायत छिमेकी राष्ट्र भारत र अन्य मुलुकहरुबाट पनि शक्तिपूजक एवम् उपासकहरु यहाँ आउनेक्रम दिनानुदिन बढिरहेको छ । भगवतीका भक्तहरु तथा धार्मिक पर्यटकहरुले गरेका कतिपय भाकलहरु पुरा भएको जन श्रुति पाइन्छ । भगवतीको शक्ति र भक्तिले ठूला–ठूला कामहरु सफल भएका छन् । ठूला अपराधिक गिरोहको खोजी तथा अनुसन्धान गरी पकडाउ गर्न सुराक मिलेको भन्ने उच्च ओहदाका प्रहरी ले भनेको कुरा पत्र पत्रिकामा प्रकाशन भएको पाइन्छ । स्वदेशी विदेशी सेना, पुलिसमा भर्ति भए पछि, भाकल पूरा भएको भन्दै, भगवतीको पूजा गर्न आउने गरेको पनि पाईन्छ । यसै गरी पढ्न वा रोजगारीको लागि विदेश गएर बेपत्ता भएका मानिसहरु घरमा आएका छन् । कर्मचारी, सेना, प्रहरी, शिक्षकहरुको बढुवा भएकोले पूजा गर्न आएको भन्ने सुन्न पाईन्छ । उद्योगपति, व्यापारीहरुको पनि राम्रो व्यवस्था भएको सुन्न पाइन्छ । सन्तान नभएका भक्तजनहरुले सन्तान जन्मेको भनि पूजा अर्चना र दर्शन गर्न आएको भन्ने जन आवाजहरु पनि दर्शनार्थीहरुबाट सुनिएको छ ।

Copyright © 2013,Maulakalika Mandir. All Rights Reserved.Designed & Developed by AVASS.